उत्साहसंगै निराशा

हृदयराम गुप्ता 123+ समाचार ( )
लगनशीलताले ढोका खोलेको सफलता, आर्थिक भारले रोक्न खोजेको भविष्य
२९ पौष २०८२, मङ्गलबार

मर्चवार । मर्चवारको माटो आफैंमा संघर्षको कथा बोकेको छ । जहाँ बिहान साँझको जीवन नै चुनौती बनेको छ, त्यहीँबाट कहिलेकाहीँ यस्ता कथाहरू जन्मिन्छन्, जसले आशाको झिल्को बाल्छ । उद्योग–व्यवसाय न्यून, भौतिक विकास कमजोर देखिए पनि मर्चवार संघर्षमा बलियो र आत्मबलमा समृद्ध छ । यही माटोबाट निस्किएका सन्तानहरूले पटक पटक प्रमाणित गर्दै आएका छन अभावले सपना मार्दैन, यदि आँट र परिश्रम साथमा छ भने ।

गरिबी र बेरोजगारीसँग दिनहुँ जुधिरहेका परिवारमा जन्मिएर उच्च लक्ष्य देख्नु आफैंमा अनौठो लाग्न सक्छ । तर संघर्षले असम्भवलाई सम्भव बनाउँछ भन्ने कुरा मर्चवारका दुई होनहार सन्तानले फेरि एकपटक प्रमाणित गरेका छन् । सानैदेखि चिकित्सक बन्ने सपना बोकेका दुई युवा रामचन्द्र मल्लाह माझी र श्याम गुप्ता एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि मर्चवारमा सफलताको टुसा पलाएको छ । गाउँ–टोलमा खुसीका लहर दौडिएका छन् । तर यही खुसीको माहोलभित्र भविष्यको खर्च, बसोबास र दैनिक गुजाराको चिन्ताले निराशाका किरण पनि सँगसँगै देखा परेका छन् ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर ५, देवानडिह गाउँका २२ वर्षीय रामचन्द्र मल्लाह माझी र मर्चवारी गाउँपालिका वडा नम्बर ६, बगौलीका श्याम गुप्ताको जीवन कथा धैर्य, त्याग र अटुट मेहनतको जिउँदो दस्तावेज हो । रुपन्देही जिल्ला सुगम मानिए पनि मर्चवार क्षेत्र अझै दुर्गम अवस्थामै छ । यस्तै विपन्न परिवेशमा हुर्किएका उहाँ दुई युवाले अभावलाई हार होइन, प्रेरणा बनाए ।

रामचन्द्र मल्लाह माझीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । रोइनिहवाबाट थुम्हवा जाने बाटोछेउ दुईवटा फुसका झुपडी छन । एउटामा परिवार बस्छ, अर्को गोठको रूपमा प्रयोग हुन्छ । बाटो पारि सानो कटेरो छ, जहाँ रामचन्द्र आफ्ना हजुरबुवा, बुवा–आमा, चार दाजुभाइ र बहिनीसँग हुर्किए ।

बुवा इन्द्रजित मल्लाह माझी र आमा प्रेमलता मल्लाह माझीको जीविकोपार्जन खेतीपाती, माछा मार्ने र सिँगडा लगाउनेजस्ता परम्परागत पेशामा निर्भर छ । स्थायी आम्दानीको स्रोत छैन । दिनहुँको छाक टार्न संघर्ष गर्नुपर्ने अवस्थाबीच पनि छोराको पढाइलाई कहिल्यै बोझ ठान्नुभएन । आफ्नै दुःख बिर्सेर खेतमा पसिना बगाउँदै, खोलामा माछा मार्दै, सिँगडा बेचेर कमाएको थोरै आम्दानी रामचन्द्रको शिक्षामा लगानी गर्नुभयो ।

सानैदेखि पढाइमा अब्बल रामचन्द्रले अभावलाई कमजोरी होइन, शक्ति बनाउनुभयो । किताब किन्न गाह्रो, ट्युसन असम्भव र सुविधाको कल्पना गर्न नसकिने अवस्थाबीच पनि उहाँले चिकित्सक बन्ने सपना कहिल्यै छोडनुभएन ।

उहाँको प्रारम्भिक शिक्षा सिलौटिया बागेश्वरी बोर्डिङ स्कुलबाट सुरु भयो । कक्षा ११ र १२ भने भैरहवाको साई ग्लोबल एकेडेमीमा शिक्षकहरूको सहयोगमा निःशुल्क रूपमा पूरा गर्नुभयो । त्यसपछि एमबीबीएसको तयारीका लागि बुटवलमा पढ्ने साथीहरूको डेरामा बसेर संघर्षपूर्ण तयारी सुरु भयो ।

मर्चवारमा इन्टरनेटको पहुँच कमजोर छ । काकाको घरमा जडान गरिएको इन्टरनेट र कहिले मोबाइल डाटा किनेर उहाँले पढाइलाई निरन्तरता दिनुभयो । तीन पटकसम्म अपेक्षित नतिजा नआउँदा पनि उनी हतोत्साहित भएनन् ।

रामचन्द्र भन्नुहुन्छ, “बि–फार्मा र बिबिएचमा राम्रो अंक आएकोले धेरैले त्यही पढ्न सल्लाह दिनुभयो । तर मैले एकपटक फेरि एमबीबीएसका लागि प्रयास गर्ने निर्णय गरेँ । चौथो प्रयासमा ४४६ ¥यांकमा नाम निस्कँदा वर्षौंको संघर्ष सफल भएको महसुस भयो ।”

दाजु दीपक मल्लाह माझीले घरको जिम्मेवारी सम्हाल्दै रामचन्द्रलाई पढाइमा केन्द्रित हुन सहयोग गर्नुभयो । परिवारको सामूहिक त्याग र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको रामचन्द्र बताउँनुहुन्छ ।

हाल उहाँ जुम्लास्थित कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेजमा अध्ययनको तयारीमा हुनुहुन्छ । तर नाम निस्केको खुसीभन्दा पनि बसोबास, खानपान, कापी–किताब र दैनिक खर्च कसरी धान्ने भन्ने चिन्ताले उहाँको मन भारी बनेको छ ।

आमा प्रेमलता माटोको चुल्होमा खाना पकाउँदै छोरीहरूको बिहे र छोरालाई साढे पाँच वर्ष कसरी पढाउने भन्ने दोहोरो चिन्तामा हुनुहुन्छ ।

बुवा इन्द्रजित मल्लाह भने भन्नुहुन्छ “छोराले हाम्रो मात्र होइन, सिंगो क्षेत्रको नाम उज्यालो बनाएको छ । भगवानले अगाडि पनि केही न केही बाटो खोलिदिनुहुनेछ ।”

यो एउटा परिवारको कथा मात्र होइन । मर्चवारकै अर्को कथा हो श्याम गुप्ताको । फेरीमा कपडा बेच्ने बुवा रमेश गुप्ताको अनुहारमा बधाई थाप्दा मुस्कान देखिए पनि मनभित्र भविष्यको खर्चको चिन्ता उस्तै छ ।

वि.सं. २०७९ मा सिलौटिया बागेश्वरीबाट एसईई उत्तीर्ण गरेका श्यामले बुटवलस्थित कालिका माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ पूरा गर्नुभयो ।

श्याम भन्नुहुन्छ “सामान्य गरिब परिवारबाट निजी विद्यालय हुँदै बुटवलको उत्कृष्ट विद्यालयमा पढ्नु सामान्य थिएन । बुवाले घाम, वर्षा र शीतलहर नभनी कपडा बेचेर हामीलाई यहाँसम्म पु¥याउनुभयो । पहिलो प्रयासमा पर्याप्त अंक नआए पनि परिवारको प्रेरणाले मनोबल घटेन । दोस्रो प्रयासमा अनलाइन कक्षा, युट्युब र साथीहरूको सहयोगले निरन्तर मेहनत गरे ।’’

‘‘२०८२ कार्तिकमा दोस्रो पटक परीक्षामा सहभागी भई ५७ ¥यांकसहित १६४ अंक ल्याएर छनोट हुँदा परिवारमा खुसीको बहार आयो । काठमाडौंका प्रतिष्ठित मेडिकल कलेजमा अवसर हुँदाहुँदै पनि बसाइ र खर्चको भारका कारण उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना हुन बाध्य भए ।’ उहाँले भन्नुभयो ।

“छात्रवृत्तिमा नाम निस्कँदा जति खुसी, त्यत्तिकै चिन्ता पनि छ,” श्याम भन्छन् ।

बुवा रमेश गुप्ता भावुक हुँदै भन्नुहुन्छ “छोरालाई डाक्टर बनाउने सपना पूरा गर्न जीवनको सबै कमाइ पढाइमै खर्च भयो । आज पनि फेरीमै कपडा बेचेर घर चलाइरहेका छौँ । कतैबाट सहयोग मिले छोराको पढाइ पूरा हुन्छ ।”

आमा इसरावती गुप्ता पनि आशा र चिन्ताबीच हुनुहुन्छ । “छोरो डाक्टर बन्ने खुसी छ । तर पढाइमा लाग्ने खर्चले रातभर निद्रा लाग्दैन,” उहाँ भन्नुहुन्छ । 

मर्चवारका यी कथाहरू केवल व्यक्तिगत सफलता होइनन्, राज्यका लागि प्रश्न पनि हुन् ।

प्रतिभा हुँदाहुँदै पनि आर्थिक अभावले सपना अधुरो हुने जोखिम अझै उस्तै छ । यी कथाहरूले मर्चवारमा शिक्षामा लगानी र सहायताको खाँचो झनै गहिरो रूपमा उजागर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार