काठमाडौं । संघीय संसदका नयाँ सदस्यहरूको शपथसँगै सरकार गठन प्रक्रिया तीव्र हुने भएको छ। संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेपछि त्यसको भोलिपल्टै नयाँ प्रधानमन्त्रीको शपथ हुने तयारी गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी दिएका छन्। उनले छोटो प्रतिक्रिया दिँदै संसद् शपथपछि तुरुन्तै सरकार गठन प्रक्रिया अघि बढ्ने र त्यसअनुसार प्रधानमन्त्रीको शपथ हुने स्पष्ट पारे।
यसरी हेर्दा, संसद् गठनको औपचारिक प्रक्रिया पूरा भएसँगै कार्यपालिका नेतृत्व चयन र शपथ कार्यक्रम द्रुत गतिमा अघि बढ्ने देखिएको छ।