मर्चवार सन्देश
धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै विभिन्न समुदायबीच सामाजिक सद्भाव, आपसी विश्वास र एकता अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा डाण्डीया नाइट तथा भव्य भगवती रात्रि जागरण आयोजना हुने भएको छ ।
श्री श्री दुर्गा पूजा समिति, मैत्रीपथ–५, अखडा नम्बर २ को आयोजनामा कात्तिक २ गते डाण्डीया नाइट र कात्तिक ३ गते भगवती रात्रि जागरण सञ्चालन हुने भएको हो । दुवै कार्यक्रम सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथस्थित शिव मन्दिर अगाडि राति ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिन बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रवि जयसवालले गत वर्ष आयोजना गरिएको डाण्डीया नाइट तथा भगवती रात्रि जागरणलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको बताउनुभयो । उहाँले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।अध्यक्ष जयसवालका अनुसार धर्म तथा संस्कृतिको संरक्षण कुनै एक व्यक्ति वा समुदायको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण नयाँ पुस्ता मौलिक परम्परा तथा सांस्कृतिक गतिविधिबाट टाढिँदै गएको अवस्थामा यस्ता कार्यक्रमले आफ्नो संस्कृति बुझ्ने र त्यसलाई पुस्तान्तरण गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय बासिन्दा, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहयोगमा कार्यक्रमलाई व्यवस्थित र सहभागितामूलक बनाउने प्रयास भइरहेको बताउनुभयो ।
कार्यक्रम संयोजक दीपेश गुप्ताले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने र नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानबारे जानकारी गराउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।“हाम्रो कला, संस्कृति र परम्परा नै हाम्रो पहिचान हुन् । यिनको संरक्षण र निरन्तरताका लागि नयाँ पुस्तालाई पनि सहभागी गराउनु आवश्यक छ । डाण्डीया नाइट र भगवती रात्रि जागरणले धार्मिक आस्थालाई अभिव्यक्त गर्नुका साथै स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने विश्वास लिएका छौँ,” गुप्ताले भन्नुभयो ।उहाँले कार्यक्रम सफल बनाउन सिद्धार्थनगर नगरपालिका–५ र ६ का स्थानीय बासिन्दा तथा विभिन्न व्यक्तित्वबाट सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो । स्थानीय समुदायको साथ र सहयोगले धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न थप प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले नगरवासीलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गर्नुभयो ।
अग्रहरी महिला मञ्च सिद्धार्थनगर, रुपन्देहीकी अध्यक्ष आरती अग्रहरीले डाण्डीया कार्यक्रम आयोजना गर्ने सुझाव आफूले सुरुदेखि नै दिँदै आएको बताउनुभयो । उहाँका अनुसार डाण्डीया नृत्य धार्मिक आस्थासँग जोडिएको सांस्कृतिक अभ्यास मात्र नभई सामूहिक सहभागिता, एकता र आपसी सद्भाव अभिव्यक्त गर्ने माध्यमसमेत हो ।उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरूको बसोबास रहेको भैरहवामा यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । “डाण्डीया नृत्यलाई मनोरञ्जनका रूपमा मात्र हेर्नु हुँदैन । यससँग धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामूहिक एकताको भावना पनि जोडिएको छ । यस्ता कार्यक्रमले एकअर्काको संस्कृति बुझ्न, सम्मान गर्न र समाजमा सद्भाव कायम राख्न सहयोग पुर्याउँछन्,” अग्रहरीले भन्नुभयो ।
समितिका सचिव विशाल श्रीवास्तवले विजयादशमी तथा दुर्गा पूजाका अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ पर्व मनाउने परम्परालाई निरन्तरता दिन लागिएको बताउनुभयो । उहाँले धार्मिक गतिविधिमार्फत स्थानीय समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्याउने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिले समुदायबीचको सम्बन्ध सुदृढ गर्नुका साथै स्थानीय सांस्कृतिक पहिचानलाई स्थापित गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।वडाध्यक्ष श्रेष्ठका अनुसार वडा कार्यालयले कार्यक्रमलाई विगतदेखि नै सहयोग गर्दै आएको छ । गत वर्ष कार्यक्रमका लागि ३० हजार रुपैयाँ सहयोग गरेको वडा कार्यालयले यस वर्ष सहयोग रकम बढाएर ४० हजार रुपैयाँ उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । स्थानीय तहले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दा समुदायमा सहकार्य र अपनत्वको भावना विकास हुने उहाँको भनाइ छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका उपाध्यक्ष दीपेन्द्र बडुवालले भैरहवामा आयोजना हुन लागेको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बहुसांस्कृतिक समाजका रूपमा परिचित भैरहवामा विभिन्न समुदायले आ–आफ्ना धर्म, संस्कृति र परम्परासँग सम्बन्धित गतिविधि आयोजना गर्दा सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धि हुने बताउनुभयो ।बडुवालले सांस्कृतिक विविधता नेपालको विशेषता भएको उल्लेख गर्दै एकअर्काको धर्म, आस्था र परम्पराप्रति सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मौलिक कला तथा संस्कृतिको संरक्षणमा युवा पुस्ताको सहभागिता आवश्यक रहेको बताउँदै युवाहरू नै कार्यक्रमको नेतृत्वमा अघि सर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
यसैबीच, रसुवालगायत विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै विशेष पूजासमेत गरिने आयोजकले जनाएको छ । धार्मिक कार्यक्रमसँगै प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले विशेष पूजा राखिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले धार्मिक आस्था अभिव्यक्त गर्नुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षण, युवा पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि तथा विभिन्न समुदायबीच सामाजिक सद्भाव कायम गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।